
परासी, नवलपरासी — “प्लास्टिक प्रदूषण अन्त्य गरौं” भन्ने नारासहित मनाइँदै गरेको विश्व वातावरण दिवस २०२५ तथा २६औं राष्ट्रिय खानेपानी तथा सरसफाई सप्ताह २०८२ का अवसरमा परासी क्षेत्रमा विविध कार्यक्रमहरू भव्य रूपमा सञ्चालन भइरहेका छन्।
रेडियो परासीको आयोजना तथा लुम्बिनी एग्रो इन्भाइरोन्मेन्ट ल्याबको समन्वयमा आयोजित यी कार्यक्रमहरूमा रेडियो परासी, जिल्ला जनस्वास्थ्य कार्यालय, डिभिजन वन कार्यालय, मदन भण्डारी फाउन्डेसन, गुड नेबर्स नेपाल, सुनवल खानेपानी तथा सरसफाई संस्था, रोटरी क्लब अफ परासी, इन्द्रेणी सामाजिक विकास मंच, रामग्राम नगरपालिका, सुनवल नगरपालिका, अँधेरी खोला खानेपानी उपभोक्ता समिति आदी को सक्रिय सहभागिता रह्यो।
जेष्ठ २२ गते – र्याली र वृक्षारोपण
आज जेष्ठ २२ गते बिहान परासी बुद्ध चोकदेखि बलगोविन्द पेट्रोल पम्प, महेशपुर चोकसम्म सरसफाई तथा जनचेतनामूलक र्याली सञ्चालन गरियो। विद्यार्थी, शिक्षक, स्थानीय बासिन्दा, समाजसेवी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त र्यालीले वातावरणीय सरसफाईको सन्देश सम्प्रेषण गर्यो।
त्यसपछि भैरहवा–परासी सडकखण्डको दायाँबायाँ क्षेत्र (रामखण्डा खोला पुलसम्म) वृक्षारोपण कार्यक्रम सञ्चालन गरियो। सयौंको संख्यामा बिरुवाहरू रोपेर वातावरण संरक्षणको सन्देश दिइयो।
सप्ताहभरिका अन्य कार्यक्रमहरू
सप्ताहभित्र आयोजना गरिने कार्यक्रमहरूको तालिका यसप्रकार छ:
- जेष्ठ २२, बिहिबार: सम्वोधनसमुद्घाटन, नगरसफाई अभियान, भित्ते लेखन तथा स्टोन आर्ट्स र वृक्षारोपण कार्यक्रम।
- जेष्ठ २३, शुक्रबार: विद्यालयस्तरीय शिक्षकहरूको सहभागीता रहने नवप्रवर्तनमूलक सामाजिक र स्वास्थ्य शिक्षासम्बन्धी अन्तरक्रिया।
- जेष्ठ २४, शनिबार: जिल्ला भरीका खानेपानी तथा सरसफाई उपभोक्ता समितिहरूबीच अन्तरक्रिया कार्यक्रम।
- जेष्ठ २५, आइतबार: रेडियो बहस र टिकटक/रिल्स प्रतियोगिता मार्फत सरसफाईमा युवाको भूमिका विषयक सन्देश सम्प्रेषण।
- जेष्ठ २६, सोमबार: महेशपुर नाकामा सरसफाई तथा सचेतना कार्यक्रम।
- जेष्ठ २७, मंगलबार: सुनवल र परासी चल्ने वन इरिक्स, टेम्पो चालक सहचालक विच सरसफाई कार्यक्रम ।
- जेष्ठ २८, बुधबार: वातावरण, खानेपानी तथा सरसफाई सम्बन्धी विषयमा विद्यालयस्तरीय चित्रकला प्रतियोगिता।
यस साप्ताहिक कार्यक्रमले वातावरणीय संरक्षणमा समुदायको संलग्नता र सरोकारवालाबीचको सहकार्यलाई उजागर गरेको छ। विभिन्न क्षेत्रका साझेदार संस्थाहरूको सहयोगमा आयोजना गरिएका यस्ता कार्यक्रमले दीर्घकालीन प्रभाव पार्ने जनचेतना विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकहरूले विश्वास व्यक्त गरेका छन्।
लुम्बिनी एग्रो इन्भाइरोन्मेन्ट ल्याबका प्रबन्ध निर्देशक वातावरणविद सुदिप पौडेलले यो कार्यक्रम हाम्रो प्रयोगशालाको तर्फबाट समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयास हो। सरसफाई, पानीको गुणस्तर जाँच, वातावरणीय शिक्षा र समुदायको सहभागिता सुनिश्चित गर्न यस प्रकारका बहु-साझेदारी कार्यक्रमहरू अझै आवश्यक भएको जनाएका छन् ।
विश्व वातावरण दिवस र राष्ट्रिय खानेपानी सप्ताह केवल प्रतीकात्मक दिवस मात्र नभई जनताको जीवनशैली, स्वास्थ्य र भविष्य सुरक्षित गर्ने साझा अभियान हुन्। नवलपरासीका विभिन्न क्षेत्रहरूमा भइरहेको यस्ता सचेतनामूलक कार्यक्रमहरूले वातावरण संरक्षण र खानेपानी सरसफाईमा जनस्तरसम्म पुग्ने महत्त्वपूर्ण कदम चालिएको प्रमाणित गरेको छ।



